

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–१०, खोरभन्ज्याङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ।
लायन्स क्लब अफ काठ्माण्डौ सुर्यमुखीले विद्यार्थीमार्फत समुदायमा मानसिक स्वास्थ्यको प्रवर्द्धन गर्ने उद्देश्यले कक्षा ९ देखि १२ सम्म अध्ययनरत करिब ६० जना विद्यार्थीलाई लक्षित गरी एक घण्टाको “मानसिक स्वास्थ्य सचेतना सम्बन्धी अभिमुखीकरण” कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष तथा धादिङ अस्पतालका कन्सल्टेन्ट एमडीजीपी डा. दिनेश रेग्मीले मानसिक स्वास्थ्यको परिचय, यसको महत्व, समस्या आउने कारण, समाधानका उपाय तथा मानसिक स्वास्थ्य सुदृढीकरणका लागि व्यक्ति, परिवार र समाजले खेल्नुपर्ने भूमिकाबारे विद्यार्थीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो।

क्लवका अध्यक्ष लायन विक्रम विश्वकर्माको अध्यक्षता तथा बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालकी गभर्नर लायन पार्वती खरेल पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो।
साथै चिफ एड्भाइजर लायन विष्णु प्रसाद भण्डारी, डिष्ट्रिक्ट चिफ लायन अनुज कुमार श्रेष्ठ र एरिया कोअर्डिनेटर लायन चक्र बहादुर नेउपाने लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमकै अवसरमा लायन्स क्लब अफ काठ्माण्डौ सुर्यमुखी र बेनिघाट रोराङ गाउँपालिकाबीच सामाजिक सेवाका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धतासहित मितेरी भिलेज घोषणा गरिएको छ।
साथै लायन्स मनराम प्रतिष्ठानको सहकार्यमा विद्यालयमा “लायन्स मनराम पुस्तकालय” को स्थापना तथा उद्घाटन पनि गरिएको थियो।
प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियाले पालिकासँग मितेरी सम्बन्ध जोडेर सामाजिक सेवामा अग्रसर भएकोमा लायन्स क्लब अफ काठ्माण्डौ सुर्यमुखीलाई स्वागत तथा धन्यवाद व्यक्त गर्दै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा दीर्घकालीन सहकार्य गर्दै अघि बढ्न आग्रह गर्नुभयो।

यस्तै विशेष अतिथि डिष्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डेले मानसिक स्वास्थ्यको महत्वमाथि प्रकाश पार्दै लायन्स क्लबहरू सधैं सीमान्तीकृत समुदाय, पिछडिएका क्षेत्र र विपन्न वर्गको सेवामा अग्रसर रहँदै आएको उल्लेख गर्नुभयो।
पालिका र लायन्स क्लबबीचको मितेरी सम्बन्धले स्थानीय समुदायलाई आगामी दिनमा शिक्षा र स्वास्थ्य क्षेत्रमा थप लाभ पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि डिष्ट्रिक्ट चिफ एड्भाइजर लायन विष्णु प्रसाद भण्डारीले सीमान्तीकृत चेपाङ समुदायका विद्यार्थीहरूको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले करिब ५० हजार रुपैयाँ बराबरका पुस्तकसहित पुस्तकालय स्थापना गरिएको जानकारी दिनुभयो।
साथै पुस्तकालयको दीर्घकालीन टिकाउका लागि लायन्स मनराम प्रतिष्ठानको सहकार्यमा एक लाख रुपैयाँ बराबरको अक्षय कोषको व्यवस्था गरिएको बताउनुभयो।
विद्यार्थीहरूको उल्लेख्य सहभागितामा सम्पन्न कार्यक्रममा क्लबकी संस्थापक अध्यक्ष लायन कविता ईटनी उप्रेती, प्रथम उपाध्यक्ष लायन राजाराम रिजाल, द्वितीय उपाध्यक्ष लायन डा. दिनेश रेग्मी, कोषाध्यक्ष लायन सुदर्शन गोम्जा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम जोन १२ का जोन चियरपर्सन तथा निवर्तमान क्लब अध्यक्ष कृष्ण प्रसाद ढकाल (शिशिर) ले सञ्चालन गर्नुभएको थियो।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |