

धादिङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको प्रतिनिधित्व खुम्चिँदै जानु चिन्ताको विषय भएको बताउनुभएको छ।
संविधानले सुनिश्चित गरेको महिला सहभागिताको व्यवस्था व्यवहारमा कमजोर बन्दै गएको भन्दै राजनीतिक दलहरूबीचको गठबन्धन यसको प्रमुख कारण रहेको बताउनुभयो।
बुधबार धादिङको बेनिघाट रोराङ गाउँपालिकामा आयोजित सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले गठबन्धन केन्द्रित राजनीतिले महिलालाई उम्मेदवार बन्ने अवसरबाटै पछाडि धकेलिरहेको बताउनुभयो ।
संघीय संसददेखि स्थानीय तहसम्म महिलाको उपस्थिति क्रमशः घट्दै जानु लोकतन्त्रकै लागि चिन्ताजनक अवस्था भएको बताउनुभयो ।
“एक तिहाइ महिला सहभागिताको सुनिश्चितता संविधानमा स्पष्ट लेखियो, कानुन पनि बन्यो, तर व्यवहारमा त्यसको कार्यान्वयन हुन सकेन,” उहाँले भन्नुभयो, “गठबन्धनको नाममा हुने भागबण्डाले महिलालाई राजनीतिक प्रतिस्पर्धाबाटै बाहिर राख्ने अवस्था सिर्जना गरेको छ।”
स्थानीय तहका पालिकाहरूमा समेत महिलाको सहभागिता अपेक्षाअनुसार नदेखिनु गठबन्धनमुखी राजनीतिलाई दोष दिन सकिने पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।
संविधानको मर्मअनुसार समावेशिता सुनिश्चित गर्ने जिम्मेवारी राजनीतिक दलकै भए पनि व्यवहारमा दलहरू त्यसप्रति उदासीन देखिएको उहाँले उल्लेख गर्नुभयो ।
“संवैधानिक व्यवस्था कार्यान्वयन नगर्ने हो भने संविधान कागजमै सीमित हुन्छ,” उहाँले भन्नुभयो, “निर्णय प्रक्रियाबाट महिलालाई अलग्याउने प्रवृत्ति बढ्दै जानु गम्भीर विषय हो।”
पूर्वराष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरूलाई सामाजिक न्याय, समावेशिता र समानताको पक्षमा दृढ भएर अघि बढ्न आग्रह गर्नुभयो ।
साथै, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई राजनीतिक विवादभन्दा पर राखेर खेलकुदको माध्यमबाट सक्षम र अनुशासित पुस्ता निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले राष्ट्रपति रनिङ शिल्डलाई केवल खेलकुद कार्यक्रम मात्र नभई स्वस्थ समाज निर्माणको आधारका रूपमा व्याख्या गर्दै पालिकाले यस क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रदेशसभा सदस्य मायादेवी शर्मा लगायतको उपस्थिति रहेको थियो ।
पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |