

धादिङ- राजनीतिमा जब पुस्तान्तरण र एजेन्डाको कुरा उठ्छ, तब धेरैले भन्ने गर्छन्- ‘अब पुरानै शैलीले चल्दैन।’
यही बदलिएको चाहना र ‘जेन-जी’ (Gen-Z) पुस्ताको विद्रोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका तर्फबाट धादिङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश धमला एउटा स्पष्ट मार्गचित्रसहित चुनावी मैदानमा उत्रिनुभएको छ।
“म भाषणभन्दा बढी परिणाम दिने राजनीतिमा विश्वास गर्छु,” धमलाको यो वाक्यले उनको चुनावी अभियानको मर्म बोकेको छ। २०८२ को निर्वाचनका लागि उनले सार्वजनिक गरेको प्रतिबद्धता-पत्र केवल शब्दको थुप्रो मात्र होइन, धादिङको भूगोल, आवश्यकता र जनताको मनोविज्ञान बुझेर तयार पारिएको एउटा ‘विकासको खाका’ हो।
युवा र ‘जेन-जी’ को आवाज: स्वदेशमै गरिखाने आधार
गत भाद्रमा भएको युवा विद्रोहका मुद्दाहरूलाई आत्मसात गर्दै धमलाले ‘नवप्रवर्तन (Startup) सहायता’ र ‘परियोजना धितो राखेर ऋण पाउने’ व्यवस्थालाई आफ्नो प्राथमिकताको पहिलो बुँदामा राखेका छन्।
विदेशिएका युवाको सीपलाई स्वदेशमै उपयोग गर्ने ‘रिटर्नी आप्रवासीमैत्री वातावरण’ निर्माण गर्ने उनको संकल्पले पलायन रोक्ने एउटा ठोस आशा जगाएको छ।
बुढीगण्डकीदेखि पदमार्गसम्म
धादिङको आर्थिक समृद्धिको मेरुदण्ड मानिएको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण तत्काल सुरु गराउने र मुआब्जाको समस्या सधैँका लागि समाधान गर्ने धमलाको मुख्य एजेन्डा हो।
धादिङबेँसीदेखि तिप्लिङ–सोमदाङसम्मको सडक कालोपत्रे गर्ने, सबै पालिका जोड्ने पक्की सडक र थोपलखोला एवं आँखुखोलामा मोटरेबल पुलहरूको सञ्जाल, गाउँ-गाउँमा उच्च गतिको इन्टरनेट पुर्याएर सेवा र शिक्षालाई डिजिटल बनाउने धमलाको घोषणा पत्रमा उल्लेख छ ।
धमलाले धादिङ अस्पताललाई १०० शैय्याको विशेषज्ञ अस्पतालमा स्तरोन्नति गर्ने र सल्यानटार अस्पताललाई ५० शैय्याको बनाउने योजना अघि सारेका छन्। “एक घर-एक धारा” र दीर्घरोगीलाई निःशुल्क उपचारको व्यवस्थाले जनताको मौलिक हकलाई व्यवहारमा उतार्ने लक्ष्य राखेको देखिन्छ।
शिक्षा क्षेत्रमा ‘इन्नोभेशन ल्याब’ र प्राविधिक शिक्षाको विस्तार गर्दै उनले प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गर्ने योजनामार्फत युवा खेलाडीहरूलाई उत्साहित बनाएका छन्।
रुवीभ्याली कन्द्रित पर्यटन योजना
धादिङको ‘रुबी भ्याली’ र ‘गणेश हिमाल’ क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन हब बनाउने धमलाको योजना छ। रुबी भ्यालीमा अन्तर्राष्ट्रिय माउन्टेनियरिङ स्कुल स्थापना गर्ने र “एक गाउँ-एक उत्पादन” मार्फत कफी, अदुवा र महको राष्ट्रिय-अन्तर्राष्ट्रिय निर्यात गर्ने लक्ष्यले स्थानीयको आयस्तर उकास्ने देखिन्छ।
यस क्षेत्रको जनताको जीवनस्तर सुधार्न र दैनिक जनजीवन उकास्ने पहिलो आधार सडक र पर्यटन नै भएकाले सडक र पर्यटन केन्द्रित पुर्वाधारको योजना निमार्ण र कार्यान्वयमा आफुले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
“बदलिएको कांग्रेसमार्फत काम र परिणाममा आधारित राजनीति गर्न मेरो उम्मेदवारी हो,” धमला भन्छन्।
उनको प्रतिबद्धता-पत्रमा भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र ‘गुठीपीडित’ समस्याको समाधान जस्ता संवेदनशील विषयहरूलाई समेत प्राथमिकताका साथ समेटिएको छ। द्वन्द्वपीडित र शहीद परिवारका लागि विशेष सहायताको प्रतिबद्धताले सामाजिक न्यायप्रतिको उनको लगाव प्रष्ट पार्छ।
नेपाली कांग्रेसको ‘भिजन-१०’ को जगमा उभिएर रमेश धमलाले धादिङ २ का लागि जे-जस्ता संकल्पहरू अघि सार्नुभएको छ, तिनीहरूको सफल कार्यान्वयनले धादिङलाई केवल भौतिक रूपमा मात्र होइन, आर्थिक र सामाजिक रूपमा पनि समुन्नत बनाउने देखिन्छ।
अबको पालो धादिङका मतदाताको हो- के उनीहरूले यो ‘परिणाममुखी’ भिजनलाई अनुमोदन गर्लान्? यसको फैसला आगामी निर्वाचनले गर्नेछ।
धमलाको घोषणापत्रका मुख्य ९ क्षेत्रहरु
१. युवा, रोजगारी र गरिखाने वातावरण
२. पूर्वाधार विकास (बाटो, पुल, बिजुली, सूचना प्रविधि)
३. स्वास्थ्य, खानेपानी र सरसफाइ
४. शिक्षा तथा खेलकुद
५. आर्थिक विकास (कृषि, उद्योग, सहकारी र निजी क्षेत्र)
६. पर्यटन र सांस्कृतिक पहिचान
८. सामाजिक न्याय र समावेशिता
९. सुशासन, लोकतन्त्र र राजनीतिक प्रतिबद्धता







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |