

धादिङ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाढीपहिरोका कारण क्षतिग्रस्त धादिङका पुलहरूको समस्या समाधान गर्न संघीय सरकारलाई तत्काल सक्रिय हुन आग्रह गर्नुभएको छ।
स्थानीय तहले वैकल्पिक पुल सञ्चालनका लागि पहल गरिसकेको भन्दै अब बेलिब्रिज जडान र स्थायी पुल निर्माणको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने उहाँको भनाइ छ।
बाढीपहिरोबाट प्रभावित धादिङ, नुवाकोट र रसुवा जिल्लाको स्थलगत अवस्था बुझ्ने क्रममा धादिङ आइपुगेका थापाले पुलको समस्याका कारण स्थानीय नागरिकले भोगिरहेको कठिनाइबारे चासो व्यक्त गर्नुभएको हो।
सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संघीय सरकारको कामकारबाही काठमाडौँमा बसेर मात्रै बुझ्न नसकिने बताउनुभयो।
प्रभावित क्षेत्रमै पुगेर स्थानीय समस्या, नागरिकका कठिनाइ र उनीहरूले भोगिरहेका वास्तविक अवस्था बुझ्नु आवश्यक रहेको उहाँको भनाइ थियो।
नुवाकोट र रसुवाका समस्याबारे आफूले निरन्तर चासो राख्दै आए पनि धादिङको अवस्थाबारे अपेक्षाकृत ध्यान पुग्न नसकेको उल्लेख गर्दै उहाँले यहाँको समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान जानुपर्ने बताउनुभयो।
भोटेकोशी नदीमा आएको बाढीका कारण धादिङ र आसपासका क्षेत्रलाई जोड्ने पुलमा क्षति पुगेपछि यातायात आवागमन प्रभावित हुँदै आएको छ।
विशेषगरी धादिङका उत्तरी क्षेत्रका नागरिकलाई पृथ्वी राजमार्गसँग जोड्ने प्रमुख मार्ग प्रभावित बनेपछि दैनिक आवतजावत तथा ढुवानीमा समस्या भइरहेको छ।
यसैबीच, पुलको तत्कालीन विकल्पका रूपमा जिल्लाका १३ वटै स्थानीय तहको समन्वय र स्थानीयवासीको सक्रियतामा बर्दियाबाट ल्याइएको पन्टुन पुल फुर्केखोलामा जडान भइरहेको छ।
जडान कार्यले अपेक्षित गति लिएमा सातदेखि आठ दिनभित्र पुल सञ्चालनमा आउन सक्ने थापाले बताउनुभएको छ।
तर पन्टुन पुललाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने उहाँको धारणा छ।
अस्थायी पुल सञ्चालनमा आए पनि यसको व्यवस्थापन र दीर्घकालीन सञ्चालन चुनौतीपूर्ण हुन सक्ने भएकाले सरकारले तत्काल बेलिब्रिज जडानको व्यवस्था गर्नुपर्ने बताउनुभयो।
त्यसैगरी, क्षतिग्रस्त स्थानमा स्थायी पक्की पुल निर्माणका लागि आवश्यक प्रक्रिया पनि सँगसँगै अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
‘स्थानीय सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न पहल गरिसकेको छ। अब बेलिब्रिज तत्काल जडान गर्ने र पक्की पुल निर्माणको प्रक्रिया अघि बढाउने जिम्मेवारी संघीय सरकारको हो,’ थापाले भन्नुभयो।
स्थलगत निरीक्षणका क्रममा देखिएका समस्या तथा स्थानीय तहबाट उठाइएका माग र विषयहरू सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |