

धादिङ । सिद्धलेक गाउँपालिकाका कर्मचारीहरू एकैसाथ भ्रमणमा निस्किएपछि गाउँपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको छ।
फागुन १ गतेदेखि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिशा आचार्य, लेखा अधिकृत टिकाराम अधिकारी, इन्जिनियरसहित ६ जनाको टोली एकैसाथ भ्रमणमा निस्किएपछि सेवा लिन पुगेका सेवाग्राहीहरूले पछिल्लो केही दिनयता सास्ती खेप्नुपरेको छ।
कर्मचारीहरू सामूहिक रूपमा भ्रमणमा गएको भन्दै स्थानीय नागरिकहरूले आपत्ति जनाएका छन्।
कार्यालय समयमै अधिकांश कर्मचारी उपस्थित नहुँदा दैनिक सेवा लिन टाढा–टाढाबाट आएका सेवाग्राहीहरू अलपत्र परेका छन्।
योजना सम्झौता, भुक्तानीलगायत अत्यावश्यक सेवाका लागि गाउँपालिकामा पुगेका नागरिकहरू कर्मचारीको अनुपस्थितिका कारण निराश भएर फर्किनु परेको स्थानीयवासी बताउँछन्।
“कामै छाडेर कर्मचारीहरू घुम्न गएपछि सर्वसाधारणले सेवा कसरी पाउने ? दिनभर कुर्दा पनि कोही जिम्मेवार व्यक्ति भेटिएन,” सिद्धलेक गाउँपालिका-३ का चित्रबहादुर थापाले गुनासो गर्दै भन्नुभयो। ‘मजस्तै धेरै सेवाग्राही सेवा नपाएर फर्किने गरेका छन्।’
अर्का एक सेवाग्राहीले बागमती कलमसँग कुरा गर्दै भने, “भ्रमण आवश्यक हुन सक्छ, तर पालिकाको नियमित सेवा नै ठप्प पारेर जानु गलत हो। कम्तीमा सेवा निरन्तर हुने व्यवस्था त मिलाउनुपर्थ्यो।”
स्थानीयवासीहरूले भ्रमण योजनाबद्ध भए पनि न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह निरन्तर गर्नुपर्नेमा जोड दिएका छन्।
उनीहरूले गाउँपालिकाको नेतृत्वप्रति समेत प्रश्न उठाउँदै यस्ता कार्यशैलीले जनतामा निराशा बढ्ने बताएका छन् ।
यस विषयमा गाउँपालिकाको आधिकारिक धारणा लिन प्रयास गर्दा सम्बन्धित पक्ष सम्पर्कमा आउन सकेन।
एक स्रोतका अनुसार भ्रमणमा गएका कर्मचारीहरु १०/११ गते मात्रै कार्यालय फर्कने जनाएको छ ।
स्थानीय नागरिकहरूले यस्ता गतिविधिमा सुधार नभए कडा विरोध गर्ने चेतावनी दिएका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |