

धादिङ । बाढीले क्षतिग्रस्त बनेको धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ।
भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण अस्पतालको भुइँतलामा रहेका औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेपछि प्रभावित बनेको अस्पतालमा आवश्यक सामग्रीको सहयोग र स्थानीयको सक्रियतापछि पुनः सञ्चालनमा ल्याइएको हो।
बाढीले अस्पताल परिसरमा ठूलो क्षति पु¥याउनुका साथै भुइँतलामा हिलो र लेदो भरिएको थियो।
अस्पतालमा रहेका औषधि तथा स्वास्थ्य सामग्री नष्ट हुनुका साथै उपचारमा प्रयोग हुने विभिन्न उपकरणमा समेत क्षति पुगेपछि नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो।
विपद्पछि अस्पताललाई पूर्ववत् अवस्थामा फर्काउन विभिन्न सुरक्षा निकाय, संघसंस्था, सामाजिक समुह तथा स्थानीयवासी सरसफाइ र पुनःस्थापनामा जुटेका थिए।
अस्पताल आफैंले तत्काल सबै उपकरण तथा आवश्यक सामग्रीको व्यवस्थापन गर्न कठिन भइरहेको अवस्थामा गल्छी गाउँपालिकाको पहलमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वृद्धिष्ट चुजी च्यारिटी फाउन्डेसन ताइवानले आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गरेपछि अस्पताल पुनः सञ्चालनमा आएको हो।
आईतबार एक कार्यक्रमका बिच वृद्धिष्ट चुजी च्यारिटी फाउन्डेसन ताइवानकी उपाध्यक्ष लेन पि यु ले अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा उहाँले विपदमा परेर ध्वस्त भएको अस्पताल यति छोटो समयमा सबै उपकरण व्यवस्था गरेर संचालनमा ल्याएको यो विश्वको उदाहरण हुन सक्ने बताउनुभयो ।
बाढीबाट प्रभावित रसुवा र नुवाकोटका अस्पतालले पनि बैरेनी अस्पतालको पुनःस्थापनाबाट सिक्न सक्ने उहाँले बताउनुभयो।
विपद्को समयमा मानवले मानवलाई सहयोग गर्नुपर्ने बताउँदै पृथ्वी, मानव र जनावरलाई प्रेम गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो,‘भोटेकोशी बाढी जलवायु परिवर्तनले ल्याएको विपत्ति हो । यो पहिरो एक दिनमा आएको होइन, लामो समयको उत्कर्षणपछि हिमपात झरेको हो ।’
कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले विपद्को समयमा अस्पताल पुनः सञ्चालनका लागि सहयोग गर्ने फाउन्डेसन, सुरक्षा निकाय, संघसंस्था, स्थानीयवासी तथा सबै सहयोगीप्रति आभार व्यक्त गर्नुभयो।
आफूहरू आफैं सम्हालिन कठिन अवस्थामा रहेका बेला अस्पतालको हिलो र लेदो हटाउन आउनेदेखि आवश्यक सामग्री र हौसला प्रदान गर्ने सबैको योगदान महत्वपूर्ण रहेको खतिवडाले बताउनुभयो।
अस्पताललाई फाउन्डेसनको तर्फबाट आकस्मिक उपचारमा आवश्यक पर्ने करिब २२७ किसिमका औषधि, ५९ किसिमका सर्जिकल सामग्री तथा विभिन्न स्वास्थ्य उपकरण उपलब्ध गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मधुकर दाहालले जानकारी दिनुभयो ।
सामाग्रीहरुमा यूएसजी मेसिन, एनेस्थेसिया मेसिन, प्रयोगशालाका आवश्यक उपकरणलगायत अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार र फर्निचरसमेत रहेका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |