

गोरखा,०४ श्रावण।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम हरहालतमा अघि बढ्ने बताउनुभएको छ।
बुधवार गोरखाको गण्डकी गाउँपालिका–८ सिउरेनीटारमा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले छिटै १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण कार्यको पनि शिलान्यास गरिने बताउनुभयो ।
ऊर्जा मन्त्रालयको आयोजनामा सम्बन्धित अन्य मन्त्रालयका अधिकारीहरूबीच छलफल भएको भन्दै उहाँले भन्नुभयो, ‘म ढुक्कसँग तपाईँहरूको सामु भन्न सक्ने भएर आएको छु कि यो आयोजना निर्माणको काम हरहालतमा अघि बढ्छ, पूर्वतयारीका काम लगभग सकिएको छ, लगानीको स्रोतको पनि एउटा टुङ्गो लागेको छ, बुढीगण्डकी ’रेडी टु गो’ को अवस्थामा पुगेको छ ।’
जलाशययुक्त आयोजना भएकाले बर्खामा बिजुलीको उत्पादन खेर जाने र हिउँदमा अभाव हुने परिस्थिति यो आयोजना बनेपछि समाधान हुने प्रधानमन्त्रीले बताउनुभयो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवम् बुढीगण्डकी जलविद्युत् कम्पनीका अध्यक्ष दिनेशकुमार घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रभावित क्षेत्र गोरखा र धादिङका सांसदहरूले आयोजना निर्माण कार्य छिटो शुरु गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
सरकारले आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको हो । आयोजना निर्माणका लागि बुढीगण्डकी जलविद्युत् कम्पनी स्थापना गरिएको हो । परामर्शदाता कम्पनी फ्रान्सको ट्रयाकबेल इन्जिनियरिङले सन् २०१५ मा तयार पारेको प्रतिवेदनअनुसार आयोजनाको अनुमानित लागत दुई अर्ब ५९ करोड अमेरिकी डलर रहने उल्लेख छ ।
अहिलेको मूल्यमा पुनरावलोकन गरिएको आयोजनाको अनुमानित लागत दुई अर्ब ७७ करोड डलर रहेको छ । आयोजनाको निर्माण अवधि आठ वर्ष रहने भनिएको छ ।
अहिलेसम्म गोरखा र धादिङतर्फ गरी ४९ हजार ९५ रोपनी जग्गाको मुआब्जाबापत ३४ अर्ब २१ करोड रुपैयाँ वितरण गरिएको छ ।यस्तै २२ हजार चार सय तीन घरगोठलगायत अन्य भौतिक संरचना, सात लाख ८७ हजार आठ सय ५४ वटा बोटबिरुवा तथा फलफूको क्षतिपूर्तिबापत जग्गाधनीलाई छ अर्ब ९१ करोड रुपैयाँ वितरण गरिएको छ ।
आयोजनाबाट भौतिक तथा आर्थिकरूपमा गोरखा र धादिङका आठ हजार एक सय १७ घरपरिवार प्रभावित हुने छन् । यसमध्ये तीन हजार पाँच सय ६० घरपरिवार पूर्णरूपमा विस्थापित हुने छन् ।
गोरखा र धादिङको सीमा भएर बग्ने बुढीगण्डकी नदी थुन्नका लागि दुई सय ६३ मिटर अग्लो बाँध बनाइने छ । बाँध बाँधेपछि थुनिएको पानीको जलाशय माथिल्लो तटीय क्षेत्रमा ६३ वर्गकिलोमिटरमा फैलने छ ।
जसबाट धादिङका १० वटा पालिका प्रभावित हुनेछन् । आयोजनाको अधिकतम जलशतह पाँच सय ४० मिटरसम्म रहने छ । आयोजनाबाट वार्षिकरूपमा तीन अर्ब ३८ करोड ३० लाख युनिट बिजुली उत्पादन हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |