

धादिङ । सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा सुरु गरिएको छ ।
काठमाडौं मेडिकल कलेज तथा टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सक रोमी दाहालद्धारा विशेषज्ञसहितको इन्डोस्कोपी सेवा सुरु गरिएको हो ।
शरीरको भित्री अंगहरू (जस्तै पेट, आन्द्रा, घाँटी, आदि) को जाँच गर्न प्रयोग गरिने एक चिकित्सकीय प्रक्रिया इन्डोस्कोपी सेवा अति आवश्यक रहेकोले सेवा सुरु गरिएको धादिङ अस्पतालका अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले जानकारी दिनुभयो ।
धादिङ अस्पतालमा यो सेवा पहिलो पटक सुरु गरिएको उहाँको भनाई छ ।
इन्डोस्कोपी गर्न एन्डोस्कोप नामक विशेष उपकरण प्रयोग गरिन्छ । एन्डोस्कोप एउटा लामो, पातलो, लचिलो नली हो । जसको अगाडि क्यामेरा र बत्ती जडान गरिएको हुन्छ ।
पेट दुखाइको कारण पत्ता लगाउन, अल्सर, ट्युमर, सुजन, रक्तस्राव जाँच गर्न, जीवाणु/नमूना संकलन गर्न, सानो शल्यक्रिया गर्न जस्तैः पोलीप हटाउने एन्डोस्कोपी गरिने डा.अधिकारीले बताउनुभयो ।
बागमती प्रदेश सरकार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले उपकरण सहयोग गरेको हो । यस सेवाले स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग र परिवर्तन ल्याउने उहाँको भनाई छ ।
अस्पतालले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन इन्डोस्कोपी सेवा विस्तार गरिएको धादिङ अस्पतालका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले बताउनुभयो ।
अस्पतालमा थुप्रै खालका विशेषज्ञसहितका सेवाहरु विस्तार भएको भन्दै उहाँले स्थानीय तथा सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनजर गरि इन्डोस्कोपी सेवा सुरु गरिएको बताउनुभयो ।
जिल्लामा रहेको एकमात्र प्रादेशिक अस्पताल धादिङ अस्पतालमा हाल आइसीयु, हेमोडायलाइसिस, आकस्मिक, ओपिडी,प्रसूति, शल्यक्रिया, फिजियोथेरापी, प्रयोगशाला, फार्मेसी, एक्सरे, भिडियो एक्सरे, एआटी, ओसिएमसी, एसएनसियु सेवा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन र एमडीजीपी सहितको विशेषज्ञ ओपिडी सेवा प्रवाह गरिरहेको छ ।
अस्पतालमा अहिले बिशेषज्ञ चिकित्सक,मेडिकल अधिकृत,चिकित्सक र अन्य सेवाका गरी एक सय ५० भन्दा बढि कर्मचारी कार्यरत रहेका अस्पतालका निमित्त निर्देशक डा.अधिकारीले बताउनुभयो ।
कस्तो प्रविधी हो इन्डोस्कोपीः
यदि तपाईंको भित्री अंगमा केही समस्या छ भने त्यसलाई लक्षणको आधारमा पहिचान गरिन्थ्यो किनभने इन्डोस्कोपीको विकास नहुँदा शरिरको भित्री अंगको परिक्षण सोच बाहिरको कुरा थियो ।
तर प्रविधीको विकास सँगै स्वास्थ्य क्षेत्रमा इन्डोस्कोपी भित्रियो । यसमार्फत पातलो फाइबरयुक्त नलीलाई शरिरभित्र प्रवेश गराएर भित्री अंगको परिक्षण गर्ने गरिन्छ ।
यो प्रक्रियाको क्रममा कुनै रिपोर्ट कुर्नु पर्दैन किनभने समस्या के हो त्यो प्रत्यक्ष स्क्रिनमा देख्न सकिन्छ । आजकाल अत्यधिक लचिलो इन्डोस्कोपीको मद्दतले नलीमात्र नभई शरिरका कुनै पनि भित्री अंगको परिक्षण सजिलो भएको छ ।
कहिले आवश्यक पर्छ ?
जब शरिरभित्र कुनै समस्या वा संक्रमण हुन्छ तब विभिन्न लक्षण देखिने गर्छ जुन सतहमा हेर्दा डाक्टरले बुझ्न सक्दैनन् । त्यसकारण इन्डोस्कोपीको आवश्यक पर्छ । साधारणतया निम्न रोगमा यो जाँच गरिन्छ ।
– नाकको समस्या वा साइनस
– गलाको समस्या
– यदि कसैलाई खानेकुरा निल्न समस्या भए
– बान्ता गर्दा रगत देखिएमा
– आन्द्रा सुन्निए वा पीडा हुँदा
– कब्जियतबाट ग्रसित हुँदा
– पित्तथैलीमा पत्थरी हुँदा
– पेटको अल्सर हुँदा
– गर्भाशयको जाँचका लागि
– पिसाबबाट रगत आउँदा
– दिसाबाट रगत आउँदा
– गर्भावस्थामा भ्रुण जाँच
– गम्भीर शल्यक्रिया अघि
– कानको रोगका लागि
कसरी गरिन्छ इन्डोस्कोपीः
इन्डोस्कोपीको प्रक्रियाको क्रममा शरिरभित्र लचिलो फाइबरयुक्त नलीद्वारा क्यामरा पुर्याइन्छ । यो काममा निकै सावधानी अपनाइन्छ ता कि शरिरलाई कुनै क्षती नपुगोस् । मुखको बाटो गरिएको इन्डोस्कोपीमा रबर गार्ड लगाइएको हुन्छ ।
यसलाई इन्डोस्कोपी माउथ गार्ड भनिन्छ । इस्डोस्कोपीले जाँच गर्न ४५ मिनेटदेखि एक घण्टा लाग्छ र यदि इन्डोस्कोपी विधिले शल्यक्रिया गर्ने हो भने यसमा लगभग दुई घण्टा लाग्न सक्छ ।
थुप्रै पटक शरिरमा नली छिर्दा बिरामीले बान्ता गर्ने र बेहोस हुने गर्छन् । थुप्रै पटक आन्तरिक अंगका लागि डाक्टरले एनस्थिसिया पनि दिन्छन् । नलीमा राखिएको क्यामरा आन्तरिक अंगको तस्बिर सिधा कम्प्युटर स्क्रिनमा देखाउँछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |