

धादिङ । धादिङकी एक १६ वर्षीया बालिकालाई बलि दिन भारत लगेर बेचबिखन गर्ने पाँच जनालाई कैद सजाय सुनाइएको छ।
जिल्ला अदालत धादिङले शुक्रबार मानव बेचविखन तथा ओसारपासार र संगठित अपराधको कसुरमा संलग्न ५ जना कसुरदारलाई कैद र जरवानाको फैसला सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको ईजलासले मानव बेचविखन तथा ओसारपसार र संगठित अपराधका दुई छुट्टाछुट्टै मुद्दामा ८ जना मध्ये ३ जनालाई सफाई दिएको र ५ जनालाई कसुर कायम गर्दै कैद जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गर्नुभएको अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
फैसला अनुसार त्रिपुरासुन्दरी गाउँ पालिका-३ कि २९ वर्षीया गीता न्यौपाने, काठमाडौ जिल्ला कागेश्वरी मनहरा नगरपालिका-६ कि ३२ वर्षीया कविता बानियाँ (आचार्य) र सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँ पालिका-२ कि ३३ वर्षीया कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष ९ महिना र थप अर्को मुद्दामा १० वर्ष कैदसँगै १ लाख ७५ हजार जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ती दिन फैसलामा उल्लेख भएको श्रेस्तेदार भण्डारीले बताउनुभयो ।
अदालतले त्रिपुरासुन्दरी गाउँपालिका-१ का ३९ वर्षीय कोपिल दमै र त्रिपुरासुन्दरी गाउँपालिका-३ कि ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५/१५ वर्ष कैद र एक/एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।
जिल्ला अदालतमा ०७९ चैत १६ गते दर्ता भएको मानव बेचविखन तथा ओसारपसार र संगठित अपराधको मुद्दा २५ पेसीपछि ०८१ असार १७ गते कसुर कायम भएको थियो । जिल्ला अदालतले कसुरदार सबैलाई ०७९ चैत २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।
धादिङ स्थित मामाघरमा बस्दै आएकी एक १६ वर्षीया बालिकालाई धादिङबाट भारतमा लगि विक्रि गरेर पुजापाठ गरि राखेको ठाउँबाट प्रहरीले उद्धार गरेको थियो।
बालिकालाई भारत पुर्याएर बन्धक बनाई राखेको अवस्थामा भारतको नयाँदिल्लीको मंगलबजार गल्ली नम्बर २ को एक घरबाट प्रहरीले ०७९ माघ १७ गते उद्धार गरेर १९ गते नेपाल ल्याएको थियो ।
पीडित बालिका ०७९ मङ्सिर १७ गतेदेखि धादिङस्थित मामा घरबाट कसुरदारहरुले ज्यानमा खत नभएको बालिकाले पुजा पाठ गर्दा धेरै पैसा आउछ भनेर फकाई फुल्याई लगेका थिए ।
लामो समयसम्म पनि उनी सम्पर्कमा नआएपछि परिवारले ०७९ पुस ६ गते बालिकाको खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय धादिङले माघ १० गते प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई पत्राचार गरि खोजी सुरु गरेको थियो ।
आरोपितहरूले पीडित बालिकालाई तान्त्रिक बाबा खुसी भएमा धेरै पैसा पाउने प्रलोभन देखाएर मङ्सिर १७ गते धादिङस्थित ममाघरबाट काठमाडौँमा ल्याएर पुस १८ गतेसम्म काठमाडौँमा बन्धक बनाइएर राखेका थिए ।
सोही क्रममा आरोपितले बालिकालाई पुस १९ गते पुन धादिङमा नै लगेर बालिकाको उचाई, तौल नाप गर्नुका साथै शरीरमा कुनै प्रकारको दाग वा टाटु र कुनै अङ्गमा चोट नभएको र रजस्वला (मिन्स) नभएको जाँचबुझ गरेर पुस १९ गते बालिकालाई नेपाल–भारत सीमा सुनौली नाकाबाट दुई दिन लगाएर भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्याएको थियो ।
मुद्दा ०७९ माघ १५ गते जिल्ला प्रहरी कार्यालयमा मानव बेचविखन तथा आोसारपसार र संगठित अपराधमा दर्ता गरिएको थियो।
उद्धार नभएको भए बालिकालाई २ दिनपछि पुर्णीमाको रातमा बलिदिने तयारी भएको तत्कालिन अवस्थामा अनुसन्धान गर्नुभएका डिएसपि सन्तुलालप्रसाद जैसवारले बताउनुभयो ।
पीडित बालिकालाई नयाँ दिल्ली पुर्याएपछि एउटा तान्त्रिक बाबाकोमा ३ पटक, अर्को तान्त्रिक बाबाकोमा २ पटक, एक बाबाकोमा १ पटक लगिएको थियो । पुर्णिमाको दिनमा भेट्न ठिक्क पारिएको बालिकालाई पहिल्यै उद्धार गरिएकोले जीवन जोगाउन सकिएको थियो ।
गरिब तथा अभिभावक नभएकाहरुलाई फकाएर लगिएपछि नुहाई धुवाई गरेर तान्त्रिक बाबाकोमा पुजा गरेपछि मागेजति पैसा पाईने भनेर बालिहरुलाई लाने गरेको पाईएको अनुसन्धानले पत्ता लगाएको थियो ।
मनग्गे पैसा बाबाको चमत्कारले पुजा कोठामा पाईएको भिडियो समेत बालिकाहरुलाई देखाएर लाने गरेको पाईएको छ। प्रहरीले आरोपितहरुबाट भिडियो, मोवाईल समेत बरामद गरेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |