

धादिङ – धादिङको सिद्धलेक गाउँपालिका आरुबासका डाक्टर कमल राज अर्यालले गृह जिल्लामा रहेको धादिङ अस्पताललाई ल्याप्रोस्कोपी टावर मेसिन उपलब्ध गराउनु भएको छ ।
धादिङमा जन्मिएर विदेशी भूमिलाई कर्मथलो बनाउनु भएका डाक्टर अर्यालको विशेष पहलमा उक्त मेसिन धादिङ अस्पताल ल्याइएको हो ।
अर्याल विगत १० वर्षदेखि बेलायत, स्विजरल्याण्ड र मलेसियन टिमलाई नेपाल ल्याएर २०० भन्दा बढी सर्जनहरूलाई की–होल सर्जरी प्रशिक्षण दिदै आउनुभएको थियो ।
सोहि क्रममा धादिङ अस्पतालबाट डाक्टर प्रतिभा धौवाडेल सहभागी हुनुभएको थियो ।
उहाँले ल्यापारोस्कोपिक सर्जरी टावरको आवश्यकता रहेको बताउनुभएपछी डाक्टर अर्यालले पनि धादिङ अस्पताल अवलोकन गरी प्रक्रिया अघि बढाउनुभएको थियो ।
गृह जिल्ला भ्रमण गर्ने क्रममा आवश्यकताको महसुस र चिकित्सकको माग अनुसार विदेशी साथी डाक्टर जेरेमी वार्डको मद्दतमा फुलवुड अस्पताल प्रेस्टनबाट करिव ८० लाख मूल्य पर्ने यी टावरहरू ल्याईएको धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गगन अधिकारीले जानकारी दिनुभयो ।
टावर स्थानान्तरणको व्यवस्थापनमा हेल्थ एक्सचेन्ज नेपाल यूकेले सहयोग गरेको अधिकारीले बताउनुभयो ।
कोभिड महामारीका क्रममा पनि डाक्टर अर्यालले धादिङ अस्पताललाई दुई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउनुभएको थियो।
२०१५ को भूकम्पमा उहाँले धादिङको आरुबास र गोरखाको दरबुङमा दुई विद्यालय पुनर्निर्माण गर्न पनि सहयोग गर्नुभएको थियो।
उहाँले विगत ९ वर्षदेखि आरुबासको कालीदेवी मावि र दरबुङको भगवती मावि एसईई परीक्षामा सर्वाधिक अंक ल्याउने विद्यार्थीलाई ‘डाक्टर पुरस्कार’ प्रदान गर्दै आउनुभएको छ ।
सहयोग गर्नुहुने डाक्टर अर्याल जेम्स पागेट विश्वविद्यालय अस्पतालमा कन्सल्टेण्ट सर्जनको रूपमा कार्यरत हुनुहुन्छ।
उहाँ पूर्वी इङ्गल्याण्ड विश्वविद्यालयको एसोसियेट प्रोफेसर र नेपालिज डक्टर्स एसोसिएसन युकेका पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।
के हो ल्याप्रोस्कोपी,कसरी हुन्छ उपचार ?
पेट, पाठेघर, पित्तथैली, एपेन्डिक्स, आन्द्रा, र अन्य अंगहरूको उपचार गर्न प्रयोग गरिने विधिलाई ल्याप्रोस्कोपिक भनिन्छ ।
यो मेसिनले उपचारमा छिटो र विरामीलाई पनि सहज हुने धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अधिकारीले बताउनुभयो।
परम्परागत शल्यक्रिया पद्धतिमा पेटमा ठूलो चिरा बनाएर शल्यक्रिया गर्दा निको हुन धेरै समय लाग्ने तर यो मेसिनको प्रयोग गरी की–होल सर्जरी गर्न सकिने हुदाँ बिरामी छिटो निको हुने उहाँको भनाई छ।
यो मेसिनले धादिङ अस्पतालको सेवा चुस्तसँगै विरामीहरुलाई पनि ठूलो फाइदा पुग्ने डा.अधिकारीले बताउनुभयो ।
‘ल्यापारोस्कोपिक टावरको प्रयोग विभिन्न प्रकारका आधुनिक सर्जरीहरूमा र यस मेसिनबाट साना चिराहरुबाट की–होल सर्जरी गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘यसले उच्च रिजोल्युसन भएको क्यामेराको मद्दतले सर्जरीको क्षेत्रलाई ठूलो रूपमा देखाउने हुँदा सटीकता र प्रभावकारिता रुपले उपचार गर्न सकिन्छ । साना चिराहरू बनाएर उपाचार गरिने हुँदा विरामी चाँडै निको हुन्छन् । पेट, पाठेघर, पित्तथैली, एपेन्डिक्स, आन्द्रा, र अन्य अंगहरूको उपचार गर्न यसको प्रयोग गर्ने गरिन्छ।’
पछिल्लो समय नेपालमा भित्र्याइएको प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सुरक्षित र भरपर्दो माध्यमको रुपमा चिनिन थालेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |