


























धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९१ करोड ९९ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।
गाउँसभाको १९औँ अधिवेशनमार्फत मंगलबार नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।
गाउँपालिकाका उपाध्यक्ष टापबहादुर श्रेष्ठले प्रस्तुत गर्नुभएको बजेट अनुसार चालु खर्चतर्फ ५० करोड ८ लाख ७७ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगत खर्चका लागि ४१ करोड ९० लाख २३ हजार रुपैयाँ छुट्याइएको छ।
अधिवेशनमा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि निरन्तर प्रयास भइरहेको बताउनुभयो ।
उहाँले विगतमा सुरु गरिएका विकास योजनालाई निरन्तरता दिँदै जनताको आवश्यकता र अपेक्षाअनुसार कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
आगामी वर्षको बजेटमा शिक्षा र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ। शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, विद्यालयका भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री शिक्षण सिकाइ वातावरण निर्माण तथा विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालनमा विशेष ध्यान दिइने जनाइएको छ।
त्यसैगरी स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र उत्पादन वृद्धिमा जोड दिइएको छ।
किसानलाई उत्पादनसँग जोड्ने, कृषि प्रविधिको पहुँच विस्तार गर्ने, उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुर्याउने तथा आयआर्जन वृद्धि गर्ने कार्यक्रमहरू बजेटमा समावेश गरिएको गाउँपालिकाले जनाएको छ।
पूर्वाधार विकास अन्तर्गत सडक निर्माण तथा स्तरोन्नति, खानेपानी आयोजना, सिँचाइ सुविधा विस्तार र आवश्यक सार्वजनिक भवन निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ।
यस्ता आयोजनाहरू स्थानीय आवश्यकता र उपलब्ध स्रोतका आधारमा कार्यान्वयन गरिने नीति लिइएको छ।यसका साथै स्वास्थ्य सेवा सुधार, सामाजिक विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने कार्यक्रमहरू पनि नीति तथा कार्यक्रममा समेटिएका छन्।
कार्यकालको अन्तिम वर्षमा ल्याइएको यो बजेटले गाउँपालिकामा सञ्चालन भइरहेका विकास निर्माणका कामलाई निरन्तरता दिँदै बेनीघाट रोराङलाई थप व्यवस्थित, समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |