























धादिङ । धादिङमा बजार अनुगमनलाई तिव्र पारिएको छ ।
खाद्य स्वच्छता तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै जिल्ला अनुगमन समितिले धादिङ अन्तरगत पृथ्वी राजमार्ग क्षेत्रका होटल तथा खाद्य व्यवसायहरूको अनुगमनका क्रममा खाद्य मापदण्ड उल्लङ्घन गर्ने पाँच व्यवसायलाई कारबाही गर्दै एक लाख १० हजार रुपैयाँ जरिवाना तिराएको छ।
अनुगमनका क्रममा गजुरी गाउँपालिका-२ बिहानी पम्पमा रहेको शुभलक्ष्मी होटल एण्ड रेष्टुरेन्ट र मन्दिरा होटल एण्ड रेष्टुरेन्टलाई जनही २५ हजार रुपैयाँका दरले जरिवाना गरिएको छ।
त्यसैगरी गल्छी गाउँपालिका-७ मा रहेको गल्छी खुवा पसललाई २५ हजार रुपैयाँ तथा थाक्रे गाउँपालिका-७ सातकिलोस्थित दिव्यांसी होटल एण्ड लजलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
यस्तै धुनीबेसी नगरपालिका-७ मा रहेको थकाली भान्छा घरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला अनुगमन समितिले जनाएको छ।
अनुगमनका क्रममा बासी तथा अस्वस्थकर खाद्य सामग्री बिक्रीका लागि राखिएको, खानामा किरा परेको, खाना पकाउने तथा भण्डारण गर्ने स्थान फोहोर अवस्थामा रहेको, कुहिएका तरकारी तथा खाद्य सामग्री प्रयोगका लागि राखिएको, म्याद नाघेका वस्तु फेला परेको तथा फ्रिजमा खाद्य सामग्री अव्यवस्थित र अस्वच्छ तरिकाले भण्डारण गरिएको पाइएपछि कारबाही गरिएको हो।
खाद्य व्यवसाय उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले सरसफाइ र गुणस्तरमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने जनाएको छ।
प्रशासनले होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई खाद्य सामग्रीको गुणस्तर, सरसफाइ, भण्डारण व्यवस्था तथा उपभोक्ता स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गरेको छ।
राजमार्ग क्षेत्रका होटलहरूबारे पटक–पटक गुनासा प्राप्त भइरहेकाले बजार तथा होटल अनुगमनलाई थप प्रभावकारी बनाइएको अनुगमन समितिको भनाइ छ।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेय, प्रहरी उपरीक्षक सुमित खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख उपअनुसन्धान निर्देशक हुमकान्त पाण्डे, पशु सेवा कार्यालय धादिङका प्रमुख डा.बब्लु ठाकुर, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुडामणि पुरी , सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश भट्टराई, पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी लगायतको सहभागिता रहेको थियो।
जिल्ला अनुगमन समितिले जिल्लामा आगामी दिनमा पनि नियमित अनुगमन तथा आवश्यक कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।
-अनुगमनका केही तस्विरहरु :






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |