






धादिङ। धादिङको गजुरी गाउँपालिका-८ कटुन्जे ढुंगानागाउँमा ६५ वर्षीय वृद्धको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मंसिर १२ गते आफ्नै घरको कोठामा हरि बहादुर ढुंगानाको शव शंकास्पद अवस्थामा फेला परेको सूचनापछि प्रहरीले अनुसन्धान थालेको थियो।
मृतकको टाउको लगायत शरीरका विभिन्न भागमा चोट भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतकका छिमेकी गजुरी गाउँपालिका-८ कटुन्जे निवासी ३८ वर्षीय सूर्य बहादुर थिङले मंसिर ११ गते राति कुटपिट गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
घटनास्थलको अनुसन्धान, शव परीक्षण तथा बरामद प्रमाण र साक्षीबाट प्राप्त विवरणका आधारमा थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।
पक्राउ परेका थिङविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गरी मंसिर १३ गते धादिङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो।
अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका थिङ यसअघि पनि सार्वजनिक अपराध तथा हातहतियार र खरखजाना सम्बन्धी कसुरमा अनुसन्धानमा परेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |