

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको भैरवी मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ ।
धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको भैरवी मन्दिरमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ।
भुकम्पले थलिएको मन्दिर पुनर्निर्माण गरिएपछि मन्दिर घुम्न तथा दर्शन गर्न आउनेहरुको भिड रहेको छ।
राम शाहले विसं १६६६ मा स्थापना गरेको आठ शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उनले स्थापना गरेको कुरा लालमोहरमा लेखिएको तर स्पष्ट बुझिने गरी नभएको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो,‘भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको छ । पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बास बसी भाकल गरेका थिए,भाकलपछि नुवाकोट जिते । पुजारी र बाजा बजाउनेलाई शाहले गुठीको नाममा ९० रोपनी ११ आना २ पैसा जग्गा व्यवस्थापन गरि दिएका हुन् । पूजा सञ्चालनका लागि पनि रकम दिने गरेका थिए ।’
अहिले पनि जिल्ला प्रशासन कार्यालयबाट पूजा सञ्चालनका लागि हरेक वर्ष ६ हजार सात सय ३२ रुपैयाँ ५० पैसा आउने गरेको समितिका सचिव श्रेष्ठले बताउनुभयो ।
पुजारी भगवान राना मगरका अनुसार भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएको अवस्थामा मासु खान मन लाग्यो । बाघको रूप धारण गरेर भैरव मासु लिन जंगल गए । सुँगुरको सिकार गरेर फर्किए । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यहीँ घोप्टो परेर बसिन् । भैरवलाई भित्र पस्न दिएनन् । प्रसव पीडाको अवस्थामा भैरवीलाई छाडेर भैरव पनि टाढा जान नसकेपछि नजिकै तल्लोपट्टि बसे । त्यसैले भैरवी र भैरव दुईवटा मन्दिर बनेको पौराणिक भनाइ र किंवदन्ती रहेको छ ।
दुईतिर कहाली लाग्दो भिर अनि माछीकाँडे भौगोलिक बनोवटको पहाडको चुचुरोमा रहेको यसमन्दिरको दुवै ठाउँबाट प्रवेश गर्ने सिँढीहरु रहेका छन्।
यस मन्दिरबाट गणेश हिमाल, मनास्लु, मानापाथीलगायत हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
सदरमुकाम धादिङबेशीबाट करिव ८ किमि पिच र १० किमि कच्ची गरी करिव १८ किलोमिटरको यात्रापछि पुग्न सकिने यस भैरवी मन्दिरमा पूजासहित वडादसैँ र चैतेदसैँमा विशेष मेला लाग्छ ।
मन्दिरमा विशेष पूजा, भाकल तथा बली चढाउने परम्परा रहिआएको छ । मन्दिरमा सवारीसाधनबाट मात्र नभई हाइकिङ गर्नेहरू पनि भैरवी मन्दिर आइपुग्ने गरेका छन् ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले ऐतिहासिक धार्मिक तथा पर्यटकिय स्थलको रुपमा रहेको भैरवी मन्दिरलाई नगरपालिकाले विशेष प्राथमिकतामा दिएर संरक्षण तथा प्रवर्धन गर्दै आएको बताउनुभएको छ।
भैरवी मन्दिरले नीलकण्ठ नगरपालिका मात्र होइन, जिल्लाकै उचाई थपेको भन्दै उहाँले धादिङ आइपुगेका र आउने चाहना राख्नेहरुका लागि भैरवी मन्दिर रोजाईको राम्रो गन्तव्य बनेको बताउनुभयो । ‘संघीय, प्रदेश तथा स्थानीय सरकारको पहलमा पुनर्निर्माण गरिएको यस मन्दिरको प्रचारप्रसार र संरक्षण गर्न सकियो भने धादिङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उहाँको भनाई छ ।
मन्दिरमा नेपाल लगायत छिमेकी राष्ट्र भारतदेखि पर्यटकहरु मन्दिर दर्शन तथा अवलोकनका लागि आउने गरेको नीलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष भुपेन्द्र कुमार श्रेष्ठले बताउनुभएको छ। तस्विर:अर्जुन श्रेष्ठ/पत्रकार






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |