

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका-४ इजारामा खानेपानी आयोजनाको निरीक्षणमा खटिएका दुई सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार संघिय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट धादिङवेशी सह-लगानी खानेपानी आयोजना तथा इजारा खानेपानी आयोजनाको निर्माण कार्य निरीक्षण तथा सुपरिवेक्षणका लागि खटिएका सब–इन्जिनियर चितवनको भरतपुर महानगरपालिका–९ का सुरेश आले र सुपरभाइजर सप्तरीको सप्तकोशी नगरपालिका-२ का हवेन्द्र कुमार यादवमाथि कुटपिट भएको थियो।
नीलकण्ठ नगरपालिका-४ निवासी संजिव मल्लले स्थानीय स्तरमा ढलान गरिएको बाटो अनुमति नलिई प्रयोग गरेको भन्दै उत्तेजनामा आई दुवै कर्मचारीमाथि कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
घटनामा सब-इन्जिनियर आले सामान्य घाइते भएका छन् भने सुपरभाइजर यादवको टाउको तथा अनुहारका विभिन्न भागमा गम्भीर चोट लागेको छ।
घाइते यादवलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि ललितपुरस्थित बी एण्ड बी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनापछि फरार रहेका आरोपित संजिव मल्ललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१४ अन्तर्गत दफा १९४ बमोजिम ‘गम्भीर उत्तेजनामा आई कुटपिट गरेको’ कसुरमा जिल्ला प्रहरी कार्यालय धादिङमा मुद्दा दर्ता गरिएको छ।
अनुसन्धानका लागि जिल्ला अदालत धादिङबाट ६ दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |