












धादिङ । कृषि तथा पशुमूल्य शृंखलामा नवीनता परियोजना अन्तर्गत सञ्चालन गरिएको ‘कृषि उद्यम द्रुतीकरण कार्यक्रम’ मा सिद्धलेक गाउँपालिका-२ नलाङ पात्लेकी रोशिका गुरुङ उत्कृष्ट कृषक उद्यमी घोषित हुनु भएको छ।
कार्यक्रम अन्तर्गत आयोजित उत्कृष्ट तीन कृषि उद्यमी छनोट तथा सम्मान समारोहमा गुरुङ प्रथम, सिद्धलेक-६ का रामकुमार श्रेष्ठ दोस्रो तथा नीलकण्ठ नगरपालिका-१० का बुद्धिप्रसाद बुर्लाकोटी तेस्रो हुन सफल हुनु भएको छ।
उहाँहरूलाई जनही ५० हजार रुपैयाँ नगदसहित प्रशंसापत्र प्रदान गरिएको एक्सन नेपालका कार्यकारी निर्देशक कमलराज ढुङ्गानाले जानकारी दिनुभयो ।
चौथो स्थान हासिल गर्नुभएको बिमला कोइरालालाई भने ग्लोबल आइएमई बैंकले १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो।
एक्शन नेपालले हेफर इन्टरनेशनल नेपाल र नीलकण्ठ नगरपालिकाको साझेदारीमा सञ्चालन गरेको उक्त कार्यक्रम उच्च सम्भावना भएका कृषक उद्यमीहरूको पहिचान, क्षमता विकास तथा व्यवसायिक उन्नयन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको कार्यक्रमले कृषिलाई परम्परागत पेशाबाट व्यवसायिक तथा बजारमुखी उद्यममा रूपान्तरण गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ।
कार्यक्रमको पहिलो चरणमा १ हजार ५०० किसानका लागि खुला आवेदन आह्वान गरिएको थियो।
प्राप्त आवेदनहरूको विस्तृत मूल्याङ्कनपछि जलवायु–मैत्री प्रविधिको प्रयोग, उत्पादन क्षेत्रफल, बिक्री परिमाण, नवप्रवर्तनशील सोच तथा नेतृत्व क्षमताका आधारमा उत्कृष्ट २५ जना कृषक छनोट गरिएको थियो।
छनोट भएका कृषकहरूलाई उद्यम विकाससम्बन्धी तीनदिने सघन तालिम प्रदान गरिएको थियो।
तालिममा उत्प्रेरणा, व्यवसाय व्यवस्थापन, बजार विश्लेषण, वित्तीय योजना, उद्यम विस्तार तथा नेतृत्व विकासका विषय समेटिएका थिए।
साथै सहभागीहरूले आगामी तीन महिनाका लागि आफ्नो उद्यम सुधार तथा विस्तार गर्ने कार्ययोजना पनि तयार गरेका थिए।
तीन महिनासम्म कार्ययोजनाअनुसार विभिन्न गतिविधि सञ्चालन गरेपछि कृषकहरूको प्रगति मूल्याङ्कन गर्न बहुपक्षीय निर्णायक मण्डलले खेत तथा उद्यममा प्रत्यक्ष अवलोकन भ्रमण गरेको थियो।
निर्णायक मण्डलमा शैक्षिक क्षेत्रका विज्ञ, डिजिटल कृषि तथा निजी क्षेत्रका प्रतिनिधि, स्थानीय सरकार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा वित्तीय संस्थाका प्रतिनिधिहरू सहभागी थिए।
कार्ययोजनाको प्रभावकारी कार्यान्वयन तथा उद्यममा देखिएको सकारात्मक परिवर्तनका आधारमा उत्कृष्ट १० जना कृषक अन्तिम चरणका लागि छनोट भएका थिए।
अन्तिम चरणमा पुगेका कृषकहरूलाई पिचिङ तथा कथावाचनसम्बन्धी दुईदिने तालिम प्रदान गरिएको थियो, जसले उहाँहरूलाई आफ्ना अनुभव, उपलब्धि, सिकाइ तथा भावी योजनाहरू प्रभावकारी रूपमा प्रस्तुत गर्न सहयोग पुगेको कार्यकारी निर्देशक ढुङ्गानाले बताउनुभयो।
उक्त कार्यक्रमको अवसरमा छनोट भएका उत्कृष्ट २५ जना कृषकलाई नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले प्रशंसापत्र प्रदान गर्नुभएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |