

धादिङ-आजदेखि धादिङसहित देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ ।
आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको खोप अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरुले सातै प्रदेशबाट बिहान ११ बजे शुभारम्भ गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैबिच धादिङमा पनि आजैदेखि खोप लगाइने भएको छ ।
पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको र अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्याभिलोमा भाईरस (एच.पि.भि.) खोप दिन लागेको हो ।
सोही अभियान अन्तरगत धादिङमा १३ हजार ९ सय ७३ किशोरीलाई खोप लगाईने जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर श्याम पोखरेलले बागमती कलमलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाउँदैछ ।
जिल्लाका २ सय ४० विद्यालय खोप केन्द्र र ९६ स्वास्थ्य संस्थाका खोप केन्द्र गरी ३३६ खोप केन्द्र मार्फत कक्षा ६ देखि १० सम्म अध्ययनरत १३ हजार ७९ छात्रा र विद्यालय नजाने ८ सय ९४ गरी १३ हजार ९ सय ७३ किशोरीलाई खोप लगाईने पोखरेलले बताउनुभयो ।
खोप अभियान दुई चरणमा सञ्चालन हुने छ ।
पोखरेलका अनुसार माघ २२ गतेदेखी २६ गतेसम्म नीलकण्ठ नगरपालिका, रुवीभ्याली, खनियावास, नेत्रावती डवजोङ, गंगाजमुना, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा फागुन १ गतेदेखी ५ गतेसम्म धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालन हुनेछ ।
जिल्लामा १४ हजार ११३ एच.पि.भि. भायल, १५ हजार ५२४ ए.डि सिरिञ्ज (०.५ मि.लि) प्राप्त भएको खोप सुपरभाइजर पोखरेलले बताउनुभयो ।
अभियानमा ३३६ जना स्वाथ्यकर्मी र ६७२ स्वयंमसेविका परिचालन हुने छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर झण्डै १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।
यस अभियानमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।
के हो एचपीभी (हृयुमन प्यापुलोना भाइरस) ?
पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप हो एचपीभी (हृयुमन प्यापुलोना भाइरस)। पाठेघरको मुखको क्यान्सर हुनमा ९० प्रतिशत भूमिका एचपीभीको हुने चिकित्सकहरु बताउछन् ।
पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि दिइने दुईथरी भ्याक्सिन नेपालमा प्रयोग भएको विशेषज्ञहरुको भनाइ छ ।
कास्की र चितवनमा परीक्षण भएको सर्भारिक्स हो भने अष्ट्रेलियन सरकारको सहयोगमा एनएनसिटिआरले गर्डाशिल भ्याक्सिन दिंदै आएको छ, जुन नेपालमा सन् २००९ देखि नै प्रयोगमा छ ।
उपत्यकाका केही निजी अस्पतालहरुले सर्भारिक्स खोप सशुल्क दिइरहेको पाइन्छ । नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो ।
त्यसैले नेपाल सरकारले यो खोपबारे जनचेतना फैलाउनुका साथै सर्वसुलभ रुपमा उपलब्ध गराउनुपर्ने चिकित्सकहरु बताउछन् ।यो खोपबारे शिक्षितहरुमा जनचेतना कम भएको विशेषज्ञहरुको भनाइ छ ।
खोपको प्रभावकारीताबारे गरिएका रिसर्च, तथ्यहरु क्यान्सर सम्बन्धी हुने गोष्ठी, छलफलमा चर्चा हुन थालेकाले सचेतना विस्तारै फैलिरहेको उनीहरुको भनाइ छ ।
यो खोप महँगो पर्ने भएकाले पनि कतिपयले लगाउन नचाहने विशेषज्ञहरुको अनुभव रहेको बताउँछन् ।
छ महिनाको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ । अस्पताल अनुसार यसको मूल्यमा पनि फरक पर्ने पाइएको छ ।
यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो ।किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ ।
तर यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ । विकसित राष्ट्रहरुमा चाँडै यौन क्रियाकलापमा सहभागी हुने सम्भावना भएकाले ९ वर्षदेखि १४ वर्ष तोकिएको हो विज्ञहरुको भनाई छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |