

धादिङ । सशस्त्र प्रहरी बल नेपाल,आश्रित गुल्म धादिङले स्थानीय तथा घरायसी सामाग्रीको प्रयोगबाट विपद् उद्धारको सामाग्री निर्माण गरि प्रदर्शन र व्यवहारिक तालिम कार्यक्रम सञ्चालन गरेको छ ।
शनिबार धादिङबेशीमा नीलकण्ठ नगरपालिका र विभिन्न संघसस्थाको आयोजना भएको युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत युवा, सिप, तालिम तथा रोजगार मेलामा सशस्त्र प्रहरी बलले पानीको बोतल, चामलको बोरा र केराको थम्बाबाट बनाइएका लाइफ ज्याकेट, तैरनका साधन र उद्दार पेटी लगाएतका सामाग्री प्रदर्शनी गरेको हो ।
प्रदर्शनमा पानीको बोतलबाट बनाइएको डुङ्गा, केराको थम्बाबाट तयार गरिएका तैरन उपकरण, चामलको बोरा र बोतलको संयोजनमा बनाइएको लाइफ ज्याकेट, र डोरीको सहायतामा बनाइएको तैरन पेटी देखाइएका थिए।
यी उपकरणहरू विशेषगरी बाढी, डुबान, नदी पार गर्नुपर्ने अवस्था वा आकस्मिक उद्दारमा अत्यन्त उपयोगी हुनेगरी निर्माण गरिएको हो।उक्त सामग्रीहरू बनाउने विधि मात्र नभई प्रयोग गर्ने अभ्यास पनि सिकाइएको थियो।
तालिमका क्रममा उपस्थित स्थानीयवासी, विद्यार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले प्रत्यक्ष रूपमा भाग लिँदै सीप आर्जन गरे। कार्यक्रम स्थलमा यस्तो अभ्यास हेर्न र बुझ्न सर्वसाधारणको उल्लेखनीय भीड लागेको थियो।
प्रदर्शनी स्थलमा उपस्थित अधिकांश दर्शकले यस्तो अभ्यास पहिलोपटक देखेको अनुभव सुनाए। धादिङको नीलकण्ठ नगरपालिका-३ का रमेश दुवाडीले प्रदर्शनीमा राखिएको सामाग्री अबलोकन गर्दै भन्नुभयो,हामीले बनाउने उपाय सिक्यौं।
घरमै रहेका सामग्री उपयोग गरेर परिवार सुरक्षित राख्न सकिने उपाय पाएकोमा नीलकण्ठ नगरपालिका-१२ कि पबित्रा थापाले खुशी व्यक्त गर्नुभयो । यो अभ्यासले समुदायमा आत्मबल र सीप दुवै अभिवृद्धि गराएको उहाँको भनाइ थियो ।
तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण हेड क्वाटर चितवनका प्रहरी सहायक निरीक्षक रोशन पौडेलले भन्नुभयो,“विपद्को बेला प्रत्येक सेकेन्ड महत्त्वपूर्ण हुन्छ। यदि तत्काल उद्दार सम्भव नहुने अवस्था आयो भने, यस्ता सस्ता र सजिला सामग्रीले ज्यान जोगाउन सक्छ। हामी चाहन्छौं, गाउँ–बस्तीमा हरेक व्यक्ति आफ्नै सुरक्षाका लागि तयार होस्।”
उहाँले थप्नुभयो, “सजिला र सस्ता यस्ता उपायहरूले विपद् साक्षरता मात्रै होइन, स्थानीय आत्मनिर्भरता पनि बढाउँछ। हामी स्थानीय जनशक्तिलाई सक्रिय बनाउन चाहन्छौं।”
यस प्रदर्शनी र तालिमले नागरिकमा चेतना अभिवृद्धि गराएको रविपद् व्यवस्थापनमा सरकारी संयन्त्रसँगै नागरिक तहबाट हुने तयारीको महत्त्वलाई उजागर गरेको उहाँको भनाई छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |