

काठमाण्डौ । सार्वजनिक गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ । देशका विभिन्न जिल्लामा कर्फयू र निषेधाज्ञा खुकुलो भए पनि सार्वजनिक गाडी चलेको छैन ।
शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायले दिउँसोको निषेधाज्ञा र रातिको कर्फयूलाई केही खुकुलो बनाउँदै निरन्तरता दिएको छ।
अत्यावश्यक कामको लागि भन्दै बिहान र बेलुका केहीबेर कर्फयू र निषेधाज्ञा हटाइएको छ । योबेला बजारमा किनमेल गर्नेहरुको चहलपहल बढ्ने गरेको छ । तर कफ्र्यु र निषेधाज्ञा हटेको बेलामा पनि सार्वजनिक गाडी चलेका छैनन् ।
आफ्नो साधन नहुनेहरु पैदलै हिँड्न बाध्य छन् । हवाई यात्रुहरुलाई सबैभन्दा धेरै समस्या परेको छ ।
अस्ति बुधवार बेलुकादेखि अन्तर्राष्ट्रिय र हिजो बिहानदेखि आन्तरिक उडान शुरु भएको छ । हवाई यात्रुहरुले कर्फयू र निषेधाज्ञाको अवधिमा पनि आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्ने भनिएको छ । तर सार्वजनिक बस र ट्याक्सी चल्न नसक्दा हवाई यात्रुहरु पैदलै हिँड्न बाध्य छन् ।
काम विशेषले हिँडडुल गर्नुपर्ने अरुलाई पनि समस्या छ । लामो दूरीका गाडी नचल्दा हजारौं यात्रु बिचल्लीमा छन् । यातायात व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति नभएसम्म गाडी चलाउन नसकिने बताएका छन् ।
यसैबीच काठमाण्डौ उपत्यकाका तीन जिल्लामा अत्यावश्यक कामको लागि आवतजावत गर्न बिहान ५ घण्टा र बेलुकी २ घण्टा समय निर्धारण गरिएको छ ।
आज बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कफ्र्यूलाई निरन्तरता दिइएको छ । अत्यावश्यक कामको लागि आवतजावत गर्न आज बिहान ६ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म निर्धारण गरिएको छ ।
अत्यावश्यक कामका लागि आवतजावत गर्न सकिने भनि छुट्याइएको समय अत्यावश्यक सामग्री किनमेल एवम् धार्मिक–सांस्कृतिक परम्परा अवलम्बनका लागि हिँडडुल गर्न, कर्मचारीहरु आफ्नो कार्यस्थलसम्म जान र फर्कनलगायतका जरुरी कामका लागि भएकाले यस समयमा समेत जुलुस, धर्ना, प्रदर्शनलगायतका गतिविधिहरु गर्न पूर्णतः निषेध गरिएको सेनाले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |