

काठमाण्डौ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नागढुंगा सडक खुलेको छ ।
गए राति पौने ९ बजे धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा पहिरो खसेर हिजो बेलुकीदेखि दुईतर्फी नै बन्द रहेको सडक आज बिहानदेखि खुलेको धादिङ प्रहरीले जनाएको छ ।
अहिले दुईतर्फी नै गाडी चलिरहे पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
यस्तै धादिङकै धार्के–सितापाइला सडकखण्ड अन्तर्गत ठूलोखोलामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ । यस्तै मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा अस्ति मंगलबारदेखि बन्द भएको सडक अझै खुलेको छैन ।
हिजोदेखि नै पहिरो पन्छाउने काम भैरहे पनि ठूलो पहिरो खसेका कारण पन्छाउन नसकिएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज पनि पहिरो पन्छाउने काम भैरहेको छ । मुग्लिनबाट झण्डै साढे दुई किलोमिटरमा पर्ने तुइनखोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती खेप्दै आएका छन् ।
सडक खुलाउन समय लाग्ने र खुले पनि जोखिम कायमै रहने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चितवन प्रहरीले आग्रह गर्दै आएको छ । यो सडकखण्डको विकल्पमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ ।
चितवनबाट काठमाण्डौ आउजाउ गर्नका लागि साना गाडीले चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्छन् ।
त्यस्तै धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथ तथा मकवानपुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाण्डौ पुग्न सकिन्छ । हेटौंडा–काठमाण्डौ आउजाउका लागि ठूलो गाडीले कान्ति लोकपथ प्रयोग गर्न सक्नेछन् ।
चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै गाडी बुटवल हुँदै पोखरा जान सक्नेछन् । यसैगरी साना गाडी चितवनबाट कालीगण्डकी करिडोरको बाटो गैंडाकोट भिमाद हुँदै तनहुँ निस्कन सक्छन् ।
तर यी वैकल्पिक सडक साँघुरो र धेरै ठाउँमा कच्ची भएकाले धेरै गाडी गुड्दा जाम हुने गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |