

धादिङ। धादिङको गजुरी गाउँपालिका-२, रातमाटे छेपाङकी २१ वर्षीया अञ्जली तामाङ पहिलो सन्तान जन्माएको पाँच दिनमै अभावसँग संघर्ष गरिरहेकी छन्।
सुत्केरी अवस्थामा आवश्यक पर्ने पोषिलो आहार, न्यानो ओछ्यान र पर्याप्त स्याहारबाट टाढा रहेकी उनी अहिले श्रीमान् दैनिक ज्यालादारीबाट फर्किएपछि मात्रै चुलो बल्ने आशामा दिन बिताइरहेकी छन्।
अञ्जली र उनका श्रीमान् पूर्णबहादुर तामाङको परिवारको आयस्रोत दैनिक मजदुरी मात्र हो। काम पाइए चामल र तरकारी किनेर घर फर्कने, काम नपाइए भोकै बस्नुपर्ने अवस्था रहेको परिवारले जनाएको छ। हाल घरमा थोरै चामल र केही आलुबाहेक अन्य खाद्यान्न छैन।
परिवारसँग आफ्नै घरजग्गा पनि छैन। उनीहरू आफन्तले अस्थायी रूपमा बस्न दिएको सानो घरमा आश्रित छन्। पूर्णबहादुरका बुबाआमा दुवै अपाङ्गता भएका कारण परिवारलाई आर्थिक वा श्रम सहयोग गर्न सक्ने अवस्थामा छैनन्। खेतीयोग्य जमिनसमेत नभएकाले दैनिक ज्यालादारी नै परिवारको एकमात्र भरपर्दो आधार बनेको छ।
सुत्केरी आमालाई आवश्यक पर्ने पोषण, आराम र सरसफाइको व्यवस्था नहुँदा अञ्जली र नवजात शिशु दुवै जोखिममा छन्। शिशुका लागि पर्याप्त कपडा छैन भने आमाले ओढ्ने-ओछ्याउने सामानसमेत अभावमा छ। स्वास्थ्यकर्मीहरूका अनुसार सुत्केरी अवस्थामा आवश्यक पोषण र विश्राम नपाउँदा आमा र शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ।
आर्थिक रूपमा सम्पन्न परिवारमा सुत्केरी महिलाको विशेष हेरचाह, पोषिलो भोजन र नवजात शिशुको आवश्यक सामग्री सहज रूपमा उपलब्ध हुने गरे पनि अञ्जलीको परिवार भने आधारभूत आवश्यकताकै अभाव झेलिरहेको छ। उनको दैनिक चिन्ता पोषिलो खाना होइन, साँझको छाक कसरी टार्ने भन्ने बनेको छ।
गजुरीको यो घटना एउटा परिवारको मात्रै कथा होइन। दुर्गम र विपन्न समुदायका धेरै परिवार अझै पनि सुरक्षित मातृत्वसँग जोडिएका आधारभूत सुविधा र सामाजिक सुरक्षाबाट वञ्चित रहेको यथार्थको प्रतिनिधि उदाहरण हो।
सरकारी तथा विभिन्न निकायका कार्यक्रम सञ्चालन भइरहे पनि आर्थिक रूपमा कमजोर परिवारसम्म प्रभावकारी सहयोग पुग्न नसकेको स्थानीयहरूको भनाइ छ।
अहिले अञ्जलीको परिवारलाई नवजात शिशुका लागि कपडा, सुत्केरी आमाका लागि पोषिलो खाद्यान्न, न्यानो ओछ्यान तथा केही समयका लागि आर्थिक सहयोगको आवश्यकता देखिएको छ।
नयाँ जीवनलाई संसारमा ल्याएकी अञ्जलीका लागि अहिलेको सबैभन्दा ठूलो आशा भने श्रीमान् ज्यालादारीबाट घर फर्किने र घरको चुलो बल्ने प्रतीक्षामै सीमित छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |