

धादिङ । आज जनै एवं रक्षाबन्धन धारण गरी देशभर जनैपूर्णिमा पर्व मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीका लागि महत्वपूर्ण मानिने यो पर्व धार्मिक आस्था, गुरु–शिष्य परम्परा, पारिवारिक प्रेम तथा स्वास्थ्यसँग समेत जोडिएको छ।
श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमामा बिहानैदेखि भक्तजन नदी, ताल, तलाउ तथा पोखरीमा पुगेर स्नान गर्ने र गुरु–पुरोहितबाट विधिपूर्वक रक्षासूत्र (डोरो) बाँध्ने गर्छन्। धार्मिक मान्यताअनुसार मन्त्र जप तथा पूजा गरी अभिमन्त्रित गरिएको रक्षासूत्र धारण गर्दा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास छ।
यस दिन ब्राह्मण पुरोहितले वैदिक मन्त्रोच्चारणसहित यजमानको दाहिने नाडीमा रक्षाबन्धन अर्थात् डोरो बाँधिदिने परम्परा छ। रक्षासूत्रलाई मानव रक्षाको प्रतीकका रूपमा लिइन्छ।
नयाँ जनै फेर्ने दिन
जनैपूर्णिमा तागाधारी समुदायका लागि नयाँ जनै फेर्ने विशेष दिन पनि हो। ब्राह्मण, क्षेत्री र वैश्यलगायत तागाधारीले गुरु–पुरोहितबाट विधिपूर्वक मन्त्रिएको नयाँ यज्ञोपवीत जनै धारण गर्ने गर्छन्।
वैदिक परम्परामा जनैलाई ब्रह्मसूत्र तथा ज्ञानको धागोका रूपमा समेत लिइन्छ। जनै धारण गर्नु धार्मिक संस्कारसँगै ज्ञान, कर्तव्य र अनुशासनप्रतिको प्रतिबद्धताको प्रतीक मानिन्छ।
किन भनिन्छ ऋषितर्पणी ?
जनैपूर्णिमाकै दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिको पूजा तथा तर्पण गर्ने परम्परा छ। यही कारण जनैपूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ।
ऋषिहरूको स्मरण र तर्पणमार्फत वैदिक ज्ञान तथा गुरु परम्पराप्रति सम्मान प्रकट गर्ने धार्मिक मान्यता रहेको छ।
क्वाँटी खाने पर्व
जनैपूर्णिमाको अर्को महत्वपूर्ण पक्ष हो क्वाँटी। विभिन्न प्रकारका गेडागुडी मिसाएर भिजाई टुसा उमारेर तयार गरिएको क्वाँटीको झोल खाने चलन छ।
वर्षायाममा शरीरमा चिसो पस्ने भएकाले क्वाँटी खाँदा शरीरमा ताप र ऊर्जा बढ्ने तथा रोग प्रतिरोधात्मक क्षमता मजबुत हुने आयुर्वेदिक मान्यता छ। विभिन्न गेडागुडीबाट तयार हुने भएकाले क्वाँटीलाई पौष्टिक परिकारका रूपमा समेत लिइन्छ।
यसै कारण जनैपूर्णिमा केवल धार्मिक पर्व मात्र नभई स्वास्थ्य र खानपानसँग जोडिएको सांस्कृतिक पर्वका रूपमा पनि महत्वपूर्ण मानिन्छ।
दाजुभाइ-दिदीबहिनीको प्रेमको पर्व
नेपालको तराई क्षेत्रमा जनैपूर्णिमालाई राखी पर्वका रूपमा पनि मनाइन्छ। दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु, सुख-समृद्धि र सुरक्षाको कामना गर्ने गर्छन्।
दाजुभाइले पनि दिदीबहिनीको रक्षा गर्ने प्रतिबद्धता जनाउने भएकाले यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउने सामाजिक मान्यता छ। पछिल्लो समय राखी बाँध्ने परम्परा पहाडी क्षेत्रमा समेत विस्तार हुँदै गएको छ।
तीर्थस्थलमा भक्तजनको भीड
जनैपूर्णिमाको अवसरमा देशभरका विभिन्न धार्मिक तथा प्राकृतिक तीर्थस्थलमा विशेष मेला लाग्ने गर्छ। काठमाडौँको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधाम, धनुषसागर, गंगासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायतका स्थानमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्दछ।
काठमाडौँ उपत्यकाका पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरको अशोकविनायक तथा वाग्मती नदीका विभिन्न घाटमा पनि स्नान, पूजा, जनै परिवर्तन र रक्षाबन्धनका लागि भक्तजन पुग्ने गर्छन्।
जनै, रक्षासूत्र, ऋषिपूजा, क्वाँटी र पारिवारिक आत्मीयताको संयोजन भएकाले जनैपूर्णिमा नेपाली समाजको धार्मिक तथा सांस्कृतिक विविधता झल्काउने महत्वपूर्ण पर्वका रूपमा स्थापित छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |