

फुर्केखोलामा बेलिब्रिजदेखि बाढीपीडितको घर फिर्तीसम्म, धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय
धादिङ। जिल्ला विपद् व्यवस्थापन समिति धादिङले बाढीबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधारको पुनःनिर्माणसँगै प्रभावित नागरिकलाई घर फर्काउने वातावरण निर्माण गर्ने निर्णय गरेको छ।
शनिबार बसेको बैठकले धादिङको सदरमुकाम तथा उत्तरी क्षेत्रको लाइफलाइनका रूपमा रहेको फुर्केखोलामा बेलिब्रिज वा अन्य वैकल्पिक व्यवस्थामार्फत यथाशीघ्र यातायात सञ्चालन गर्न संघीय पूर्वाधार मन्त्रालयमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।
त्यस्तै, पहिचान भएका चार वटा वैकल्पिक सडकको आकस्मिक मर्मत तत्काल सरल विधिबाट गर्ने र दीर्घकालीन स्तरोन्नतिका लागि कानुनी तथा बजेटसम्बन्धी अड्चन फुकाउन सरकारसँग पहल गर्ने निर्णय भएको छ।
धादिङबेशी-ज्वालामुखी-बुङ्कोटघाट-बेनीघाट सडकलाई समेत वैकल्पिक मुख्य मार्गका रूपमा मर्मत तथा स्तरोन्नति गर्न सम्बन्धित निकायमार्फत अनुरोध गरिने भएको छ।
परेवाटार–मास्टार सडक स्तरोन्नतिका लागि आवश्यक निर्माण सामग्री उपलब्ध गराउन सिद्धलेक गाउँपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले तत्काल राहतको चरण पूरा भएको निष्कर्ष निकाल्दै अब लेदो हटाउने, घर मर्मत गरी बस्न सक्ने वातावरण बनाउने तथा तत्काल घर फर्कन नसक्ने प्रभावितलाई निश्चित समयका लागि स्थानीय तहले भाडा व्यहोर्ने गरी कोठामा बस्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।
सम्भावित विपद्का बेला सञ्चार तथा विद्युत् सेवा अवरुद्ध हुन नदिन टेलिकम र विद्युत् कार्यालयलाई ब्याकअप व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयमा लेखी पठाउने, बाढीबाट क्षतिग्रस्त सडक, पुल तथा सार्वजनिक सम्पत्तिको यथार्थ मूल्याङ्कन गरी पुनःनिर्माणका लागि सरकारसँग बजेट माग गर्ने, कृषि क्षेत्रमा भएको कटान रोक्ने तथा खानेपानी योजनाको पुनःनिर्माणका लागि थप बजेट माग गर्ने निर्णय भएको छ।
हालसम्म सम्पर्कमा नआएका नागरिकको अवस्था यकिन गरी क्षतिपूर्ति सहज रूपमा घरदैलोमै पुर्याउने व्यवस्था मिलाउने तथा उनीहरूको सम्झनामा उपयुक्त स्थानमा स्तम्भसहितको पार्क निर्माणका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने निर्णय गरिएको छ।
त्यस्तै, सडक तथा पुललाई दिगो हुने गरी पुनःनिर्माण गर्न तथा प्रविधियुक्त पूर्वसूचना प्रणाली जडानका लागि सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ। बाढीबाट निरन्तर कटान भइरहेका मोटरेबल तथा झोलुङ्गे पुलका संरचनामा अल्पकालीन संरक्षणका लागि सडक विभाग र सम्बन्धित महाशाखासँग पहल गर्ने तथा आवश्यकताअनुसार सुरक्षा निकाय परिचालन गर्ने निर्णय गरिएको छ।
बाढीबाट प्रभावित गल्छीका वडा नं.१, २, ४, ६ र ८, गजुरीका वडा नं. १, २, ५ र ६, बेनीघाट रोराङका वडा नं. ३, ५, ७, ९ र १० तथा सिद्धलेकका वडा नं.४, ६ र ७ मा भइरहेको राहत, लेदो हटाउने, साना पूर्वाधार निर्माण, ग्रामीण सडक मर्मत, खानेपानी शुद्धीकरण तथा खानेपानी लाइन मर्मतका काममा वडा कार्यालय र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्ने विषयमा समेत बैठकमा छलफल भएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |