























धादिङ । रासायनिक मलको अभाव चुलिएको अवस्थामा धादिङमा बिल-बिजकबिनै मल बिक्री भइरहेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले १७० बोरा मलको बिक्री-वितरणमा रोक लगाएको छ।
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको र्यापिड एक्सन टिमले गरेको नागरिक अनुगमन पछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खटिएको जिल्ला अनुगमन समितिले धादिङबेसीको पुछारबजारस्थित दुवाडी एग्रोभेटमा आकस्मिक अनुगमन गरेको थियो।
र्याट धादिङका अनुसार धादिङबेसीस्थित दुवाडी एग्रोभेटमा भारतीय रासायनिक मल बिक्री भइरहेको सूचना प्राप्त भएपछि र्याटका सदस्य दुर्गा वस्तीलाई किसानका रूपमा मल खरिद गर्न पठाइएको थियो। मल खरिद गरेपछि उनले खरिद बिल माग्दा एग्रोभेटले बिल उपलब्ध गराउन नमिल्ने जनाएको वस्तीले बताउनुभयो ।
त्यसपछि र्याट धादिङका अध्यक्ष दीपक अधिकारी, सदस्य दुर्गा वस्ती,राम तामाङ लगायतले खरिद गरिएको मललाई प्रमाणका रूपमा लिएर जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारीसँग भेट गरेर बजारमा बिक्री भइरहेको उक्त मलको तत्काल अनुगमन गर्न आग्रह गरेका थिए। सोही आग्रहका आधारमा प्रशासनको टोलीले अनुगमन गरेको थियो।
अनुगमनका क्रममा खरिद तथा बिक्रीसँग सम्बन्धित आवश्यक कागजात तथा बिल–बिजक नभेटेपछि अर्को निर्णय नभएसम्म उक्त मल बिक्री नगर्न निर्देशन दिइएको छ ।
जिल्लामा सरकारी अनुदानको रासायनिक मल सहज रूपमा उपलब्ध हुन नसकेको र बजारमा महँगो मूल्यमा बिक्री भइरहेको गुनासो आएपछि अनुगमन गरिएको प्रशासनले जनाएको छ।
अनुगमनका क्रममा विक्रेतासँग खरिद तथा बिक्रीसम्बन्धी प्रमाण मागिए पनि तत्काल उपलब्ध गराउन नसकेपछि बिक्री प्रक्रिया रोकिएको हो।
दुवाडी एग्रोभेटका सञ्चालक बोधनाथ दुवाडीले भने किसानको उच्च मागका कारण भारतीय रासायनिक मल ल्याएर बिक्री गरिएको बताउनुभएको छ।
उहाँका अनुसार प्रतिवोरा दुई हजार सात सय ५० रुपैयाँमा खरिद गरिएको मल दुई हजार नौ सय रुपैयाँमा बिक्री गरिएको थियो। मल कुनै कम्पनी वा आधिकारिक निकायबाट नभई तेस्रो पक्षमार्फत प्राप्त भएकाले खरिदसम्बन्धी औपचारिक बिल उपलब्ध नभएको उहाँको दाबी छ।
यस्तै, अनुगमनकै क्रममा नीलकण्ठ नगरपालिका–८ मा भण्डारण गरेर राखिएको थप ९० बोरा रासायनिक मल समेत फेला परेको छ। प्रशासनका अनुसार ३० बोरा सेतो र ६० बोरा पहेँलो बोरा गरी ९० बोरा मल फेला परेको हो।
उक्त मल कसको स्वामित्वमा रहेको र किन भण्डारण गरिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।
दुवाडी एग्रोभेट नीलकण्ठ नगरपालिका-७, १२ र १३ नम्बर वडामा सरकारी अनुदानको रासायनिक मल वितरण गर्ने आधिकारिक डिलरसमेत रहेको बताइएको छ।
सरकारी अनुदानको मल अभाव भइरहेका बेला बिलबिनाको मल बिक्री र भण्डारण भएको विषयलाई प्रशासनले गम्भीर रूपमा लिएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले घटनाको तथ्यगत छानबिन जारी रहेको र अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |