ताप्लेजुङका किसानलाई यतिबेला अलैँची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैँची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् ।
यो समय अर्थात् असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैँची टिप्न र थन्क्याउने चटारो भएको हो । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची तल्लो औल क्षेत्रमा भदौदेखि टिप्न सुरु गरिन्छ ।
माथिल्लो लेक क्षेत्रमा मंसिर महिनासम्म अलैँची टिप्ने गरिन्छ । यसरी भदौ महिनादेखि मंसिरसम्म अलैँची थन्क्याउनलाई समय लाग्ने भए पनि अहिले मध्य अर्थात् मुख्य सिजन भएकाले किसानलाई भ्याइनभ्याइ भएको छ ।
अलैँची सङ्कलन गर्ने समय भएपछि सङ्कलन गर्न ढिलो भएमा वन्यजन्तुले खाइदिने नोक्सानी गरिदिने हुँदा अलैँची खेतीमा संलग्न किसानले दशैँ तिहारजस्ता चाडपर्व सहज गरी मनाउन पाउँदैनन् ।
चरा, मुसा र कालाजस्ता जङ्गली जनावरले अलैँची खाएर क्षति गर्ने गर्छन् । त्यसैले चाडपर्व नभनी किसानले अलैँची थन्क्याउन व्यस्त रहन्छन् । अलैँचीको मुख्य सिजन भएकाले अलैँची बारी (बगान) मा नै चाडपर्व बितिरहेको फुङ्लिङ नगरपालिका –६ बिहीबारेका किसान केदार पतङ्वाले बताए ।
दशैँ पर्व घरमा बसेर मनाउन पाए पनि तिहार भने अलैँची थन्क्याउने चटारोले जङ्गलमै बितिरहेको उहाँको भनाइ छ । यस्तै, फुङ्लिङ नगरपालिका वडा नम्बर ६ कै अर्का किसान खाङ्डो शेर्पाले पनि अलैँची टिप्न, छोडाउन र सुकाउनमा तिहार पर्व बितिरहेको बताए ।
घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले क्षति गर्ने भएपछि चाडपर्व र तिहार नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको शेर्पाले बताए ।
जिल्लाको नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका –७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्ने गरिन्छ । जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |