

धादिङ । नीलकण्ठ नगरपालिका–१२ बडहरेका महेन्द्र श्रेष्ठले पुर्ख्यौली जमिनलाई बहुजातीय कृषि बगैँचामा रूपान्तरण गर्नुभएको छ ।
सदरमुकाम धादिङबेसी नजिकै रहेको उहाँको बगैँचामा विभिन्न जातका फलफूल, मसला तथा बहुमूल्य जडीबुटीका बिरुवा एकै ठाउँमा हुर्किरहेका छन्।
श्रेष्ठले मुख्य १३ रोपनी र त्यससँगै जोडिएको थप ६ रोपनी गरी करिब १९ रोपनी क्षेत्रफलमा यस्तो बगैँचा विकास गर्नुभएको हो ।
पानीको सहज उपलब्धता र स्थानीय हावापानीलाई उपयोग गर्दै उनले देशका विभिन्न ठाउँबाट बिरुवा खोजेर ल्याउने र नयाँ प्रजाति परीक्षण गर्दै बगैँचा विस्तार गरिरहनु भएको छ ।
बगैँचामा प्रवेश गरेपछि घना वनजङ्गलभित्र पुगेजस्तो देखिन्छ। तर यहाँका बिरुवा प्राकृतिक रूपमा उम्रिएका नभई श्रेष्ठले वर्षौंको मेहनत र निरन्तरको खोजीबाट संकलन गरी रोप्नु भएको हो ।
मध्यपहाडी क्षेत्र तथा अन्य भूगोलमा पाइने विभिन्न प्रजातिका फलफूल र बहुउपयोगी वनस्पति एकै स्थानमा संरक्षण गर्ने उहाँको प्रयासले बगैँचालाई फरक पहिचान दिएको छ।
हाल बगैँचामा सुन्तला, ड्रागन फ्रुट, स्ट्रबेरी अम्बा, हलुवावेद, भुइँकटहर, तारवानी, कागती, कटहर, आँप, कफी, चिकुफल, सावरसुप, रामबुतान, केरा, जापानी नासपाती, छोकडा, अमला र बयर लगायतका फलफूलका बिरुवा छन्।
फलफूलसँगै ल्वाङ, मरिच, सुकुमेल, अलैँची, हिङ, रुद्राक्ष र महुवाजस्ता मसला तथा बहुउपयोगी वनस्पति पनि उहाँले हुर्काइररहनुभएको छ।
फरक-फरक प्रजातिका बिरुवाको संरक्षण र परीक्षणका कारण बगैँचा कृषि अवलोकन तथा अध्ययनका लागि समेत आकर्षक स्थान बन्न थालेको छ।
बगैँचाको विशेष आकर्षण भने अगरउडका बिरुवा हुन्। श्रेष्ठले करिब पाँच सय अगरउडका बोट हुर्काइरहनुभएको छ। अगरउडको काठबाट प्राप्त सुगन्धित रेजिन महँगो अत्तर, धूप तथा कस्मेटिक सामग्रीमा प्रयोग हुने भएकाले यसको व्यावसायिक सम्भावना पनि उच्च मानिन्छ। आयुर्वेदमा समेत अगरउडको प्रयोग हुने गरेको छ।
सदरमुकाम नजिकै भएकाले बगैँचामा उत्पादन हुने फलफूल तथा अन्य कृषि उपज बिक्रीका लागि बजारको समस्या खासै नरहेको श्रेष्ठको अनुभव छ। उहाँका अनुसार अहिले मुख्य चुनौती भनेको आवश्यकताअनुसार नियमित र दक्ष श्रमिक पाउनु हो।
गाउँमा काम गर्ने उमेरका युवाहरू रोजगारी तथा अवसरको खोजीमा सहर र विदेशतर्फ जाने क्रम बढेसँगै कृषि क्षेत्रमा श्रमिकको अभाव देखिन थालेको उहाँको भनाइ छ।
बगैँचा विस्तार हुँदै जाँदा नियमित हेरचाह, गोडमेल, कटाइँछँटाइँ तथा अन्य कृषि कार्यका लागि जनशक्ति आवश्यक पर्ने भए पनि स्थानीय स्तरमा पर्याप्त श्रमिक उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो ।
तर श्रमिक अभाव र अन्य चुनौतीका बीच पनि श्रेष्ठ आफ्नो अभियानबाट पछि हट्नुभएको छैन। पुर्ख्यौली जमिनलाई परम्परागत खेतीमा मात्र सीमित नराखी नयाँ र दुर्लभ प्रजातिका बिरुवा संकलन तथा संरक्षण गर्दै उहाँले कृषि विविधताको नमुना तयार गर्नुभएको छ ।
१९ रोपनी क्षेत्रमा फैलिएको यो बगैँचा अहिले उत्पादनको थलो मात्र नभई विभिन्न प्रजातिका फलफूल, मसला र जडीबुटीबारे अवलोकन गर्न सकिने कृषि नमुना क्षेत्रका रूपमा विकसित हुँदै गएको छ।
स्थानीय स्तरमै उपलब्ध जमिन, पानी र श्रमको उपयोग गरेर कृषि क्षेत्रमा नयाँ सम्भावना खोज्न सकिन्छ भन्ने उदाहरणसमेत श्रेष्ठको प्रयासले देखाएको छ।

भिडियो……..





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |